Dr. Tara Joshi

२०२७ साल चैत्रमा डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका-२ को एक साधारण परिवारमा जन्मिएका जोशीको प्रारम्भिक शिक्षा गाउँकै प्राथमिक विद्यालयमा भएको हो । उनी माध्यामिक शिक्षा पूरा गरी उच्च शिक्षा अध्ययनका लागि तराई झरे । कैलाली बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह र महेन्द्रनगरको सिद्धनाथ क्याम्पसबाट स्नातक गरेका जोशीले भारतको कमाउ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । उनले जवाहरलाल नेहरु विश्वविद्यालयबाट पूर्ण छात्रवृत्ति कोटामा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक सम्बन्धमा विद्यावारिधिको पढाइ पूरा गरे ।विद्यार्थी जीवनमै उनले कैलाली बहुमुखी क्याम्पसबाट राजनीतिक यात्रा प्रारम्भ गरे । ०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनले गाविस अध्यक्षमा पराजित हुनु पर्‍यो ।

०५५ सालमा राजनीतिक पत्रकारिता सुरु गरेका डा. जोशीले कञ्चनपुरबाट प्रकाशन हुने वैचारिक पत्रिका ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादक भएर काम गरे । कान्तिपुर, नेपाल साप्ताहिक र भारतको हिन्दुस्तान टाइम्सका लागि स्तम्भ लेख्ने काम पनि उनले गरे । जोशीले केही समय शिक्षण पेशामा पनि बिताए । २०६२/०६३ जनआन्दोलनमा उनीमाथी प्रहरी दमन भयो र केही दिन थुनामा बसे ।

‘भिजन डडेल्धुरा’ का सूत्रधार जोशीले लामो समय लगाएर सुदूरपश्चिममा कृषि उत्पादनमा आधारित उद्योग स्थापनाका लागि अध्ययन गरे । अध्ययनपछि उनकै नेतृत्वमा ७७७ जनाको लगानीमा ‘फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेड’ नामक उद्योग स्थापना भई हाल परीक्षण उत्पादन गरिरहेको छ । हाललाई मेगा भट्मास कम्पनी (सोया, प्यालेट, दूध, तेल, साबुन) उत्पादन गर्ने गरी परीक्षण उत्पादन गरिरहेको कम्पनीले आगामी दिनहरुमा अन्य कृषि उत्पादन पनि प्रशोधन गर्ने जोशीको अवधारणा छ ।